Header Ads

अन्तिम आश


             
antim+aash+nischal+prem+nepali+stories

                  पहिलो पटक उनलाई मैले वानेश्वरमा देखेको थिएँ। खोइ के कारणले हो उनी गाडीको खलासी सँग झगडा गर्दै थिइन्। सायद उनी पहिलो केटी थिइन् जो झगडा गरिरहँदा नि यति राम्री देखेकी थिइन्। हिउँ जस्तै गोरी उनी, रेशम झैँ मुलायम कपाल छोडेकी, साधरण मेक अप, सुट र पाइन्टमा - गलामा  स्कार्फ पहिरेकी उनको व्यक्तित्व प्रति म आकर्षित नरही रहन सकिन।

सधैँ झैँ एकदिन म अफिस जानको लागि गाडी कुरी रहेको थिएँ। कमलपोखरीको एउटा बैँकको क्रेडिट डिपार्टमेन्टमा  जागिर गर्थेँ। सधैजसो आज गाडी चलेको थिएन। गाडी नपाएको चिन्तामा डुबेको म, कतिखेर उनी मेरो छेउमा आइछन् पत्तै पाएनछु। आज उनी सधैँ देखिरहने पहिरनमा भन्दा अलग पहिरनमा थइन्।पहेलो कुर्ता- सुरवालामा सजिएकी उनीमा सेतो रंगको सलले बेग्लै सुन्दरता थपेको थियो। प्राय खुल्ला रहने उनका कपाल पछाडी लगेर बानिएका थिए। कानमा लगाएको त्यो छिरबिरे रङ्गको झुम्का उनको त्यो पहिरनमा एकदम म्याच गरेको थियो। हामी त्याहाँ गाडी कुरेको पनि २० मिनेट भइसकेछ। यत्तिकैमा उनले एउटा ट्याक्सी रोकिन्। "दाई!! कमलपोखरी जानुहुन्छ??" ड्राइभरले जाने सहमति जनाए सँगै, ट्याक्सीको पछाडी सिटमा बसिन्। "तपाई नि कतै जाँदैहुनुहुन्छ भने मिलेर जाम। आउनुहोस् बस्नुहोस् "। उनको त्यो अनपेक्षित प्रश्नले एकछिन त म अक्कमकिएँ र अन्त्यमा उनको प्रस्ताव स्वीकारेर म उनीसँगै ट्याक्सीमा बसेँ।

केही बेरको सन्नाटालाई चिर्दै मैले प्रश्न राखेँ "तपाई कता जानुपर्ने हो?" मेरो प्रश्नको जवाफ दिनलाई उनी म तिर फर्किन् र मुस्काइन् "कत्ति न थाहै नभए जस्तो! सधैँ त आउनुहुन्छ त मेरो पिछा गर्दै। म कमलपोखरीसम्म जाने हो। तपाइको अफिस पनि त्यतै होइन र?" यो सुनेर म चकित भएँ। एक त आफ्नो चोरी पकडिएको थियो भने आश्चर्यको कुरा उनले मेरो बारेमा कसरी थाहा पाइछिन्। "तपाइले कसरी थाहा पाउनु भयो र?" मैले आफ्नो कौतुहलता प्रकट गरेँ।  " के stalking को कपिराइट केटाहरूसँग मात्र हुन्छ र??" यत्ति भन्दै उनी खित्का छोडेर हाँस्न थालिन्। उनको त्यो हाँसोमा बेग्लै मिठास थियो। उनको त्यो प्रतिप्रश्नले मनमा अनेकौँ तरँगहरू सिर्जना गरिदिएको थियो। ममात्र हैन, उनले नि मलाई याद गरेकी रहिछिन् यो त्थयले मेरो खुसीको सीमा रहेन। यत्तिकैमा कमलपोखरी आइसके रहेछ। लन्च ब्रेकमा भेट्ने वाचा सहित हामी एक अर्काबाट विदा भयौँ।

त्यो दिनदेखि हाम्रो भेटघाटमा वृद्धि भयो। बिहान सँगै जाने, दिउँसोको लन्च सँगै गर्नुको साथै बेलुका काम पश्चात सँगै चिया/कफि पिइ सँगै फर्किने गर्थ्यौ। भेटघाटसँगै हामी एक अर्कालाई राम्ररी बुझ्दै थियौँ, जसले हामीबीच अरू निकटता बढाइएको थियो। उनी सरल मिजासकी थिइन्। सरल जीवन व्यतीत गर्न रुचाउने उनी आफ्नो करियरलाई लिएर एकदम सिरिएस थिइन् र मेहनति पनि एकदम गर्थिन्। यही गुणहरू उनको ममा एकदम छाएको थियो। मनमनै म उनलाई मन पराउन थालिसकेको थिएँ।

अफिसपछि प्राय सधैँ हामी कफीको लागि भेट्ने गर्थ्यौ। शुक्रबार अफिस चाँडै छुटि हुन्थ्यो। उनलाई कफिको लागि प्रस्ताव राखेँ र उनले नि स्वीकारीन। हामी सधैँ गइरहने ब्यकरी क्याफेमा गयौँ। शुक्रबार को दिन युनिफर्म अत्यावश्यक थिएन। निलो रंगको डेनिम जिन्स र खैरो रङ्गको टिसर्टमा आकर्षक देखिएकी थिइन्। सधैँ झैँ मैले ब्ल्याक कफि मगाएँ र उनले एक्सप्रेसो मगाइन्। कफिको मजासँगै विभिन्न अफिसियल कुराहरु नि हुने गर्थे। क्यास डिपार्टमेन्को टेलर उनी कस्टमरको चाप हुँदाको क्षणको विस्तृान्त सुनाइरहेको हुन्थिन्। "तपाइहरुको मोज छ है! मान्छेहरुलाई लोन बाँड्यो, बस्यो । कति सजिलो छ तपाइहरुको त। हाम्रो त कस्टमर  सधैँ हतारमा हुन्छन्, चाँडै सुविधा खोज्छन। अलि ढिला भए रिसाउँछन्,  कोही कोही त झगडा सम्म गर्न नि पछि पर्दैनन्"। बेला बखतमा उनी आफ्नो कार्यस्थलको फ्रस्टेसन पोख्ने गर्थिन्।  "तिमीलाई देखेर त कोही झगडा गर्दैनन् होला नि त। तिमी छौ नै यति प्यारी, अब यति प्यारी मान्छेसँग कोही किन झगडा गर्छन् र??" जिस्काउने आशयले मैले उनलाई भनेे। यति भनेर उनीतर्फ हेर्दा रीसाए झैँ गरी; करके नजर हेरी रहेका उनको आँखामा म कसरी नफसी रहन सक्थेँ होला र। "जिस्केको हो के ! त्यति नि बुझ्दैनौ र? ल बाबा , आइ एम सरी " माफीको शब्दहरुसँगै उनको मधुर मुस्कानले मैले माफी पाएको महसुस गरेँ। "बाइ द वे, क्रेडिट डिपार्टमेन्टको काम तिमीले सोच जस्तो सजिलो नि छैन ल।आफ्नै पैसा माग्दा नि कोही-कोहीहरु उनीहरुको किड्नी मागेझैँ रियाक्ट गर्छन् दुरदर्शी र परिपक्क निर्णय लिन नसक्दा धेरै जोखिम मोल्नुपर्ने हुन्छ।अनि बैँकहरुको मुनाफामा लोनले कस्तो भूमिका निर्वाह गर्छ त्यो त तिमीलाई भनिरहन नपर्ला नि है।" मेरो भनाइमा उनी सहमत थिइन्। बेलाबेलामा सहमतिमा उनी आफ्नो टाउको हल्लाइरहेको थिइन्।

अफिसपछिको त्यो भेटघाट नै हाम्रो जीवनको अभिन्न अङ्ग बन्दै गइरहेको थियो। उनीसँगको हँसी-मजाक, कामसँग सम्बन्धित कुराकानी र उनको फरासिलो व्यवहार; मेरो उनीप्रतिको  प्रेम झन् गाढा हुँदै गइरहेको थियो। एकदिन समय मिलाएर उनीलाई मनको सबै भावहरु व्यक्त गर्ने निर्णयमा पुगेको थिएँ। उनीसँग भेट नभएको केही समय भएको थियो। उनी आफ्नो काममा व्यस्त भएको कुरा बताउने गर्थिन्। एकदिन उनले सधैँ भेट्ने क्याफेमा भेट्ने प्रस्ताव राखिन। उनको यो प्रस्तावले मन फुरुङ्ग थियो। उत्साहा, उमङ्गले अफिसको काममा ध्यान दिन सकिरहेका थिइन। लामो समयको विछोड पछि भेट्न लागेको मायालु जोडी झैँ उनलाई भेट्न म एकदमै लालायित थिएँ। बारम्बार घडीतर्फ आँखा डुलाइरहेको म, घडीको सुईले ५ हान्नासाथ अफिसबाट निस्किएँ।

क्याफेमा पुगेर केहीबेरको पर्खाई पश्चात उनी आइपुगिन्। धेरै समयपछिको भेटले हर्षित म, उनको अनुहारमा छचल्किएको गम्भीरयताले सचेत भएँ। सामन्य गफ-गाफ र कफि पिलाइ पछि उनले भनिन् "हेर न, म भोलि घर जाँदैछु। बाबालाई सन्चो छैन रे। ममी चिन्तित हुनुहुन्छ। मैले जवबाट नि रिजाइन दिइसकेको छु। तिमीलाई गुड बाइ भन्नलाई आएकी। " उनीसँग भेट हुनेमा छाएको त्यो हर्ष, उमङ्ग अनि खुसी क्षणभरमै कता बिलिन भए थाहै भएन। उनीसँग हुने त्यो अन्तिम भेटको यथार्थले मन गह्रौं बनायो। मैले केही प्रतिक्रिया नजनाएपछि उनले भनिन् " sorry ल, हेर न म आफै के गर्ने, के नगर्ने भनेर दोधारमा थिएँ। मलाई यो निर्णयमा पुग्न धेरै गाह्रो भएथ्यो। तिमीलाई पहिले भन्नै सकिन।" उनको त्यो बिदाईको शब्दहरुसँगै कहिँ-कसैले आफ्नो मुट्टु नै चुडेर लिएर जान लागे झैँ आभास भइरहेको थियो। भोलिको लागि तयारी गर्नु छ भन्दै उनी त्यहाँबाट विदाईको हात हल्लाउँदै टाढा भइन्।

भारी मन लिएर फर्केको म, रात कोल्टे फेर्दै बितेछ। बिहानको गाडी थियो उसको, त्यो यथार्थ स्विकार्न मन मानिरहेको थिएन। "Have a safe Journey, आमा-बाबाको ख्याल राख है। Hope to see you again" भनेर मेसेज पठाएँ। मनमा तरँगित अनेकौँ भावहरु सायदै व्यक्त गर्न सकिन्थे होला। केही बेर पश्चात मेरो मेसेजको रिप्लाई आयो। मोबाइलको नोटिफिकेसनको आवाजले त्यही इङ्गित गरिरहेको थियो। हत्तपत्त मोबाइलमा आएको मेसेज खोलेँ, जाहाँ लेखिएको थियो " तिमी नि आफ्नो केयर गर। अनि मलाई धेरै मिस नगर 😉 (एक आखाँ झिम्काएको इमोजी पठाएकी थिइन् ) सबै ठीक भएमा "Hope to see you again.Bye"

उनको मेसेजले मनमा केही राहात दियो । साथमा मनमा पलाएको आशाहरुलाई जिवन्त रुप दियो। अस्ताएका मेरा सपनाहरूमा पुनः उज्यालो किरण छाएको महसुस  भयो। बिहानको ११ बजे तिर एउटा अपरिचित नम्बरबाट कल आयो। केही बेरको रिङ्ग पश्चात फोन उठाएँ। "नमस्ते!! हामी गजुरी पुलिस स्टेशनबाट बोल्दै छौँ। आज बिहान काठमाडौंबाट काकडभिट्टा जाँदै गरेको गाडी त्रिशुलीमा दुर्घटना भएको छ। दुर्घटनाग्रस्त गाडीबाट एउटा मोबाइल पाएका छौँ जसबाट अन्तिम मेसेज हजुरलाई गरिएको रहेछ। हजुरले चिनेको कोही सवार हुनुहुन्थ्यो भने, मृतकलाई सनाखत गर्ने आइदिनु होला।"

उताबाट अरु के-के भन्दै थिए। मैले केही थाहै पाइन। सारा संसार अँध्यारो लाग्न थाल्यो। आँखा अगाडी उनको त्यो अन्तिम मेसेज र हँसिलो मुस्कान सहितको आकृति मबाट कतै टाढा गइरहेको थियो। "Hope to see you again" उनको मेसेजको अन्तिम वाक्यांश आँखा आगाडी टक्क रोकिए। उनको मेसेजले दिलाएको त्यो अन्तिम आश सायद उनीसँगै बिलिन भयो।


How was the story friends ? Please post your feedback on the comment section below. Your feedback is always appreciated. :)

If you like the story Please do share it as well.


Thank you.





Read my other story:     त्यो झरिको दिन




No comments

Enjoy the Cheap Mountain Flights

Enjoy the Cheap Mountain Flights
Get Mesmerized with the beauty of Himalayas
Powered by Blogger.